महेन्द्रनगर हिरा ईलेक्ट्रोनिकमा आगलागीबाट लाखौंको क्षती

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौंको क्षती भएको छ । जनकपुर ढल्केवर सडक खण्ड क्षिरेश्वरनाथ नगरपालिका ५ अमर चौक स्थित रहेको हिरा ईलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको छ । आगलागीबाट पसलमा रहेको सम्पूर्ण समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति करिव साढे १२ बजेको समयमा भएको आगलागी विहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । मिथिला नगरपालिका ढल्केवरबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । मिथिला नगरपालिका २ नक्टाझिज बस्ने हिरा महतोले वर्षौदेखि संचालन गर्दै आएको सो पसलमा आगलागीबाट करिव ३० लाख भन्दा बढीको ईलेक्ट्रोनिक सरसमानहरु जलेर पूर्ण रुपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक बेचन यादवले जानकारी दिनुभयो । आगलगीको घटनाबारे अनुसन्धान भईरहेको प्रहरी निरिक्षक यादवले बताउनुभयो । स्थानीयहरुका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट पसलमा रहेको फ्रिज, एलएडी टिभी, राइसकुकर, ग्याँस चुल्हो, ईन्र्भटर, लगायतको सरसमान जलेको छ । यता आगलागी स्थलमा पुग्नु भएका क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरका अध्यक्ष सुरेश प्रंसाद यादवल विद्युत वा ईन्र्भटर सर्ट भएर आगलागी भएको हुनसक्ने बताउनुभयो । महेन्द्रनगरमा व्यापारीको पसल जलिरहँदा नजिकै रहेको क्षीरेश्वरनाथ नगरपालिकाको वारुण यन्त्र आउँन नसक्दा ढल्केवरबाट मगाउनु परेको थियो । नगरपालिकाको गैरजिम्मेवारपनको कारण महेन्द्रनगरको वारुण यन्त्र नजिकै पसल जल्दा पनि काम नलागेको संघका अध्यक्ष यादवले गुनासो गर्नुभयो । महेन्द्रनगरमा पटक पटक पसलहरुमा विद्युत सर्ट भएर आगो लाग्ने गरेको छ । यसप्रति व्यापारीहरुलाई सर्तक हुन अध्यक्ष यादवले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर