पशुहरुमा लाग्ने लम्पीस्कीन रोगवारे एकदिने अन्तरक्रिया गोष्टी सम्पन्न

वैशाख २८ महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ रम्दैया स्थित पशुहरुमा लाग्ने लम्पीस्कीन रोगवारे एकदिने अन्तरक्रिया गोष्ट कार्यक्रम सम्पन्न भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका पशु सेवा शाखाको आयोजनामा आयोजित कार्यक्रममा धनुषा जिल्ला जि.स.स.सभापति राजनन्दन मंडल, क्षिरेश्वरनाथ नगरपालिका नगर प्रमुख सुखदेव यादव, मधेश प्रदेश पशु पन्छी तथा मत्स्य विकास निर्देशक जागेश्वर यादव, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र प्रमुख डा.संजिव कुमार ठाकुर, मधेश प्रदेश पशुपन्छी तथा मत्सय विकास निर्देश्नालय योजना अधिकृत शिव नारायण यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मकेश्वर यादव, २ का देवु यादव, क्षिरेश्वरनाथ नगरपालिका पशु सेवा शाखा संयोजक विष्णुदेव यादव, कार्यपालिका सदस्य, स्थानिय किसानहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा उपस्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र प्रमुख डा.संजिव कुमार ठाकुर र मधेश प्रदेश पशु पन्छी तथा मत्स्य विकास निर्देशक जागेश्वर यादव लम्पी स्किन रोगबाट पशुहरुलाई कसरी बचाउने, यो रोगको रोकथाम बारे विस्तृत जनकारी गराएका थिए । नेपालमा पहिलो पटक देखिएको यो रोग लम्पी स्किन भाइरसबाट सर्छ । सुरुमा प्रदेश १ को मोरङ, झापा र सुनसरी, मधेश प्रदेशको रौतहट, वाग्मती प्रदेशको चितवन र मकवानपुरमा किसानले पालेका गाईभैँसीमा देखिएको लम्पी स्किन रोग अहिले मधेश प्रदेशको सबै जिल्लामा फैलिसकेको निर्देशक यादवले बताए । यो रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छर लगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र प्रमुख डा.ठाकुरले जनकारी दिए । छिमेकी भारत हुँदै यो रोग नेपालमा भित्रिएको डा. ठाकुरले भने, ’भारत र बंगलादेशमा पनि यो रोग देखिएकाले त्यतैबाट सरेर आएको हुन सक्ने अनुमान गरिएको छ ।’ १९२९ मा अफ्रिका, १९८९ मा इजराइलबाट मध्यपूर्व हुँदै यो रोग भारत र बंगलादेशमा सन् २०१९ मा पनि देखा परेको थियो ।


सुरुमा गाईमा मात्रै देखिएको यो रोग अहिले भैंसीमा पनि फैलिएको छ । यो रोग लागेपछि गाईभैंसीले कम दूध उत्पादन गर्ने, यसले करिब ८० प्रतिशतसम्म दूध उत्पादन घटाउन सक्ने तर यसको मृत्युदर न्यून रहेकोे डा.ले बताए । नेपालमा कोरोना महामारीकै बेला असार अन्तिम साता यो रोग मोरङमा पहिलो पटक देखा परेको थियो । साउन ११ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा लम्पी स्किन रोग भएको पुष्टि भएको हो । भातरसँग सीमा जोडिएका जिल्लाका पशुहरु संक्रमित पशुसँगको सम्पर्कमा आएको हुनुपर्ने वा झिंगा लामखुट्टे लगायतको टोकाइबाट सरेको हुन सक्ने अनुमान गरिएको छ । हाल पशु प्राविधिकहरुले संक्रमित पशुहरुलाई लक्षणको आधारमा उपचार विधि अपनाइरहेका छन् ।

कार्यक्रममा उपस्थित डा.ठाकुर स्थानिय सरकार र उपस्थित किसानहरुलाई तत्कालका लागी एक जिल्लाबाट अर्को जिल्लामा पशु तथा चौपायाहरु ओसापसार र बेचबिखन नगर्न आग्रह गरेका थिए । पशुहरुमा रोग फैलिरहेकाले सकेसम्म घर पालुवा जीवहरुलाई घरमै बाँधेर राख्न आग्रह गरेका थिए । उनले रोगका लक्षणहरु देखा परेका पशु किसानहरुलाई आफनो व्यक्तिगत नम्बर उपलब्ध गराउँदै जनकारी गराउन आग्रह गरेका थिए । यो रोग गाईभैंसीको ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्ने बताएका थिए । यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी÷पाडापाडीमा समेत सर्ने डा. ठाकुरले बताए । साथै संक्रमित पशुको मृत्युदर कम भएकाले डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर