जेष्ठ २८ महेन्द्रनगर
धनुषा मिथिला नगरपालिका सुख्जोर स्थित तिनदिने अगरबती तालिम सम्पन्न भएको छ ।
मिथिला नगरपालिकाको आयोजना र सिन्ड्रेला नेपालको सहजीकरणमा स्थानिय विपन्न परिवारहरुलाई प्राथमिकतामा राखि तिनदिने अगरबती तालिम सम्पन्न भएको छ । श्री राष्ट्रिय आधारभुत विद्यालय नक्टाझिज २ सुख्जोरमा मिति २०८० जेष्ठ २५ गते मधेश प्रदेशका सांसद हरिनरायण महतोबाट उदघाटन गरी विधिवत सुरु भएको तालिममा करिब २५ जनाले अगरबती बनाउने सिप सिकेको सिन्ड्रेला नेपालकी अध्यक्ष आशिका गिरीले जनकारी दिनुभयो ।
मिथिला नगरपालिका वडा नम्बर २ को बजेटबाट संचालन भएको अगरबती बनाउने तालिमको समापनको दिन प्रमुख अतिथीको रुपमा उपस्थित वडाअध्यक्ष विहारी महतो सिप सिकेकाहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । साथै आउनेदिनमा पनि सिन्ड्रेला नेपालको सहजीकरणमा अरु सिपमुलक तालिम संचालन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
त्यस्तै सिन्ड्रेला नेपालकी अध्यक्ष आशिका गिरी तिन दिनको कम समयमा पनि सहभागीहरुलाई राम्रो सँग सिप सिकाउन सफल प्रशिक्षक श्रीकृष्ण मण्डललाई धन्यवाद दिँदै सिप सिकेकाहरुलाई छिटै ठाउँको व्यवस्थापन गरि अगरबती बनाउन चाहिने कचापदार्थ लगायतको सामग्री व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
तालिम समापन्न कार्यक्रममा अतिथीको रुपमा उपस्थित श्री राष्ट्रिय आधारभुत विद्यालयका प्रधानध्यापक अरुण कुमार महतो, लक्ष्मण होटलका संचालक लगायतका अतिथीहरुलाई फुलमालाले सम्मान गर्दै तालिममा सहभागी सम्पुर्णलाई प्रमानपत्र प्रदान गरिएको छ ।